दफा ३२
निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने
(१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले कारोबार गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा जुनसुकै बखत निरीक्षण तथा सुपरीवेक्षण गर्न वा गराउन सक्नेछ ।
(२) बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीलाई खटाई अनुमतिपत्र प्राप्त संस्थाको स्थलगत (अनसाइट) वा सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थामा रहेका सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणहरु आफू समक्ष झिकाई (अफसाइट) निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षण तथा सुपरीवेक्षण गर्ने प्रयोजनको लागि बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोलीको गठन गर्न सक्नेछ र विशेषज्ञ टोलीले पाउने सुविधा त्यस्तो टोली गठन हुँदाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।
(४) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्दा उपदफा (२) बमोजिमको विशेषज्ञ टोली वा बोर्डका अधिकृत कर्मचारीले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा सुपरीवेक्षण गर्न वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्न सक्नेछ ।
(५) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरीवेक्षणको सिलसिलामा निरीक्षण तथा सुपरीवेक्षण गर्ने विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले आवश्यक देखेमा अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणमा शिलबन्दी गरी त्यसको अभिलेख राखी आफैसँग राख्न वा अनुमतिपत्र प्राप्त संस्थाको जिम्मामा राख्न लगाउन सक्नेछ ।
(६) विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण वा सुपरीवेक्षणको कार्य सम्पन्न गरेको मितिले पन्ध्र दिनभित्र त्यसको प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(७) निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।